“मनुष्याणां वृत्तिरर्थः, मनुष्यवती भूमिरित्यर्थः। तस्या पृथिव्या लाभपालनोपायः शास्त्रमर्थशास्त्रमिति॥”
आजभन्दा करिब साढे २३ सय वर्षअघि इसा पूर्व ३२६ मा, उमेरले करिब ३० वर्षमात्र पुगेका तत्कालीन म्यासेडोनी राजकुमार अलेक्जेन्डर द ग्रेटको सेना हालको पाकिस्तानी शहरहरू इस्लामाबाद र लाहोरको बीचमा पर्ने झेलम नदी किनारमा अवस्थित भेरा नामको स्थानमा युद्धमा हार मान्दै फर्कियो। यससँगै विश्व जित्न हिँडेका अलेक्जेन्डर महानको सपना चकनाचूर भयो। दार्शनिक सुकरातका चेला प्लेटो, प्लेटोका चेला अरस्तु र अरस्तुका चेला अलेक्जेन्डर महानको युद्धकला, रणनीति र विजययात्राको बारेमा धेरै चर्चा गरिएको पाइन्छ, तर उनको पराजयको भने खासै उल्लेख भएको पाइँदैन। इतिहासकारहरूका अनुसार अलेक्जेन्डरको सेनाले तत्कालीन भारतीय क्षेत्रको नन्द साम्राज्यका सेनाको संख्या देखेरै युद्ध गर्न हच्किएको थियो, पराजय स्विकारेको थियो।
नन्द साम्राज्यलाई विस्थापित गरेर चन्द्रगुप्त मौर्यको अगुवाइमा भारतीय उपमहाद्वीप क्षेत्रमा मौर्य साम्राज्यको स्थापना भयो। मौर्य साम्राज्य नन्द साम्राज्यभन्दा निकै ठूलो भूगोलसम्म फैलियो। मौर्य साम्राज्यका सूत्रधार थिए विष्णुगुप्त, जो चाणक्य नामले प्रसिद्ध छन्। उनीद्वारा लिखित चाणक्यनीति तत्कालीन समयमा निकै व्यवहारिक ठहरियो र त्यसैको जगमा मौर्य साम्राज्य दक्षिण एसिया क्षेत्रको सर्वकालीन ठूलो साम्राज्य बन्न पुग्यो। चाणक्यले हालको इस्लामाबाद नजिकै अवस्थित प्राचीन तक्षशिला विश्वविद्यालयमा अर्थशास्त्र विषयको प्राध्यापकको रूपमा पनि काम गरेका थिए। उनले आधुनिक अर्थशास्त्रका पिता मानिने एडम स्मिथको जन्म हुनुभन्दा करिब दुई सहस्राब्दीअघि नै अर्थशास्त्र विषयको पुस्तक प्रकाशन गरेका थिए। उनलाई आफ्नो कुटिल व्यक्तित्वको कारणले कौटिल्यको नामले पनि चिनिन्छ। उनै कौटिल्यको ‘अर्थशास्त्र’ पुस्तक (पन्ध्रौं अधिकरण, प्रथम अध्याय) बाट माथिको संस्कृत श्लोक उद्धृत गरिएको हो, जसको नेपालीमा यस्तो भावानुवाद गर्न सकिन्छ—“मानिसहरूको जीविका (वृत्ति) लाई ‘अर्थ’ भनिन्छ; मानिसहरू बसोबास गर्ने भूमि पनि ‘अर्थ’ नै हो। त्यस्तो भूमिलाई प्राप्त गर्ने र त्यसको रक्षा (पालन) गर्ने उपायहरू सिकाउने शास्त्र नै ‘अर्थशास्त्र’ हो।”
कौटिल्यले अर्थलाई जीवन र तिनको प्रकृतिसँग जोडेर हेर्थे। कौटिल्यको अर्थशास्त्रले राजनीतिशास्त्र, युद्धशास्त्र, दण्डशास्त्र आदिलाई पनि समेटेको थियो किनभने अर्थ मानिसहरूको अस्तित्व, जीविका र भलाइसँग प्रत्यक्ष जोडिएको छ। अंग्रेजीमा अर्थशास्त्रलाई ‘इकोनोमिक्स’ (Economics) भनिन्छ; ‘Eco’ को अर्थ गृह, ‘nomics’ को अर्थ शास्त्र—अर्थात् घर सञ्चालन गर्ने शास्त्र, अर्थात् दैनिकी र जीविकासँग प्रत्यक्ष जोडिएको विज्ञान। अंग्रेजीले पनि अर्थशास्त्र शब्दलाई संस्कृतजस्तै व्यापक परिभाषा समेट्ने गरी नामकरण गरेको छ। यसरी पूर्वीय होस् वा पश्चिमी, दुवै सभ्यतामा अर्थको परिभाषा मानिसहरुको दैनिकी वा जिविकासंग जोडिएको छ।
नेपाली बृहत् शब्दकोशले ‘अर्थ’ शब्दलाई करिब एक दर्जन तरिकाले व्याख्या गरेको छ, जसलाई मुख्यतः दुई वर्गमा विभाजित गर्न सकिन्छः पहिलो—तात्पर्य वा मतलब, दोस्रो—ऐश्वर्य वा धन-सम्पत्ति। यद्यपि, अर्थ शब्दको बृहत् परिभाषा खोज्न यसका विपरीतार्थक शब्दहरू—व्यर्थ र अनर्थ—का अर्थ मनन गर्नु अर्थपूर्ण हुन्छ।
विपरीतार्थकको विपरीतार्थकलाई यथार्थक मानिन्छ। यस अर्थमा अर्थको परिभाषालाई अर्थपूर्ण बनाउन व्यर्थ र अनर्थ शब्दहरूको अर्थ निकै उपयोगी हुन सक्छन्। व्यर्थको अर्थ—बकवास, काम न काजको, बेकार, फाल्तु। व्यर्थको विपरीतार्थक हुनु आफैंमा निकै अर्थपूर्ण छ। अनर्थको अर्थ—वर्बादी वा विपत्ति; अनर्थको विपरीतार्थक अर्थमा अर्थको परिभाषा अझ अर्थपूर्ण हुन्छ। त्यसैले कुनै पनि क्रियाकलाप अर्थपूर्ण हुनु जरुरी छ। अर्थहीन क्रियाकलाप वा बहसमा रुमल्लिनु निरर्थक हुन्छ। यहाँ अर्थ शब्दको जसरी प्रयोग गरिएको छ, त्यसले पनि अर्थ शब्दको परिभाषालाई अर्थपूर्ण बनाउन मद्दत गर्छ।
तर अर्थपूर्ण सबै क्रियाकलापमा समय वा स्रोतसाधनको लगानी गर्नु सधैं विवेकपूर्ण नहुन सक्छ। वास्तवमा, प्राथमिकतामा नपरेका तर निकै महत्वपूर्ण लाग्ने क्रियाकलापमा गरिने लगानी पनि प्राथमिकताभन्दा बाहिर पर्छ भने निरर्थक हुन्छ। उदाहरणका लागि, विज्ञानको परीक्षाको तयारी गर्न गणित विषयमा केन्द्रित हुनु विवेकपूर्ण हुँदैन, भलै गणितको ज्ञान विज्ञानकै लागि पनि अनिवार्य होस्। पढ्ने, सुत्ने वा व्यायाम गर्ने सबै आवश्यक क्रियाकलाप भए पनि सुत्ने बेलामा पढ्ने वा काम गर्ने बेलामा व्यायाम गर्ने क्रियाकलाप प्राथमिकताभन्दा बाहिर गएका हुन्छन्। यस्तो गर्नु अनुत्पादक मात्र होइन, प्रतिकूल पनि हुन्छ।
हामी सीमितताको संसारमा बाँचिरहेका छौं। हामीसँग न समय असीमित छ, न स्रोतसाधन असीमित छन्; असीमित हुन सक्छन् त केवल मानिसहरूका आकांक्षा र कल्पनाहरू मात्र। सीमित समयभित्र आ-आफ्ना प्राथमिकतामा गरिने लगानीले मात्र सही अर्थमा अपेक्षित परिणाम दिन सक्छ। त्यसैले हाम्रा क्रियाकलापहरू—चाहे ती निजी जीवनका हुन्, सामाजिक हुन् वा राष्ट्रिय सवालका—सबैमा प्राथमिकता निर्धारण गरेर इमानदारपूर्वक र व्यवहारिक रूपमा निर्धारित प्राथमिकतामै केन्द्रित हुनु जरुरी छ। शतप्रतिशत समयमा शतप्रतिशत नतिजा प्राप्त हुन्छ भन्ने होइन, तर त्यस बहानामा प्राथमिकताबाट विचलित हुनु अनर्थ हुन जान्छ।
प्राथमिकता निर्धारण गर्दा समय, अवस्थिति, स्रोतसाधनको उपलब्धता जस्ता तत्वहरूको आधारमा गरियो भने मात्र त्यो अर्थपूर्ण हुन्छ। यथार्थको धरातलमा नटेकेर, वस्तुस्थिति नबुझी, हचुवाको भरमा निर्धारण गरिने प्राथमिकताले व्यक्ति देखि राष्ट्र वा सम्पूर्ण सभ्यतालाई नै गलत दिशातर्फ धकेल्छ।
नेपालको सन्दर्भमा समग्र देश र देशवासीको सर्वोत्तम हित हुने प्राथमिकता निर्धारण हुने अवसरमा राष्ट्र नै पटक-पटक चुक्दै गएको देखिन्छ। भावनामा बगेर केही गैरप्राथमिकतालाई प्राथमिकतामा राखिएको पाइन्छ। जस्तै, दिगो र आत्मनिर्भर आर्थिक नीति निर्माण तथा तिनको इमानदार कार्यान्वयनलाई चटक्क बिर्सेर नेपालले कुनै प्रभाव पनि नपारेको र नेपालको नियन्त्रणमा पनि नरहेको विषय—विश्वव्यापी जलवायु परिवर्तनलाई प्राथमिकतामा पार्नु; लोकतन्त्र अभ्यासको बहानामा केवल अर्को निर्वाचनकै लागि निर्वाचित संस्थालाई अल्पायुमै विघटन गर्नु।
प्राथमिकता निर्धारण र तिनको इमानदार कार्यान्वयनका कुरा गर्दा कतिपयलाई भ्रष्टाचार नियन्त्रण र सुशासन आजको मूल प्राथमिकता लाग्छ, तर त्यसका लागि कुन उपायहरुलेले कसरी परिणाम मुखी काम गर्छन् भन्नेमा उनीहरू नै पर्याप्त जिज्ञासु र समाधानकेन्द्रित भएको पाइँदैन। तिमध्ये कतिपयले त आफूले पाए लाभ लिने र अर्कोले लियो भने ‘भ्रष्टाचार’ भनेर कराउने गरेको पनि पाइए अचम्म मान्नु पर्दैन। कतिपयलाई आर्थिक विकास वा शान्ति-सुरक्षा मूल चासो लाग्छ, तर उनीहरू नै त्यसमा पर्याप्त तयारी गरेको पाइँदैन। कतिपयलाई आफैं लोकतन्त्रको पर्याय लाग्छ, तर तिनै लोकतन्त्रका हिमायतीहरू निर्वाचित संस्थालाई गैरनिर्वाचित सानो समूहले अपदस्थ गर्दा उदासीन देखिन्छन्। कतिपयको प्राथमिकता सामाजिक न्याय होला, कतिपयको विकेन्द्रीकरण, कतिपयको पूर्वराजाका परिवारलाई राजगद्दीमा फर्काउनु, कतिपयको वर्तमान संविधान खारेज गरेर पुरानो संविधान ब्यूँताउनु होला। सबैले आ-आफ्ना प्राथमिकतालाई अर्थपूर्ण ठानेका होलान्। तैपनि आफ्नै प्राथमिकताका नीति, कार्यक्रम, योजना, विधि, विधानजस्ता विषयहरु ओझेलमा पर्दा उनिहरु स्यमंले आवश्यक अडान लिन सकेको पाइँदैन।
क्षणिक स्वार्थ, अवसरवाद र लोकरिझ्याईले नेपालमा ईमान्दार, बहुजन हितकारी, र परिणाममुखी बहसहरूलाई ओझेलमा पारेका छन्। सत्तामा पुग्नु र शक्तिसम्पन्न बन्नुमै राजनीति सीमित बनेको छ। छलकपट वा भूराजनीतिक शक्तिहरूको चाकरी गरेरै भए पनि सत्ता र शक्तिको केन्द्रमा पुग्ने र क्षणिक आत्मरतिमा रमाउने रस्साकस्सी कतिपय राजनीतिकर्मीहरूमा देखिन्छ। फलस्वरुप समग्र समाज नै अनावश्यक रूपमा नकारात्मकतालाई अंगिकार गर्दै गरेको देखिन्छ। आम मानिसहरूमा नकारात्मक मानसिकताले डेरा जमाउँदै गर्दा, नेपालले विगतका दशकहरूमा गरेका केही उल्लेखनीय र ठोस उपलब्धिहरू प्रति पनि मानिसहरू आभारी हुन सकेका छैनन्।
मूल प्राथमिकता निर्धारण गर्न त्यति अप्ठेरो छैन। सहायक प्राथमिकताहरू जे-जे भए पनि मूल प्राथमिकताका लागि संसारभरिको इतिहासमा पुष्टि भइसकेको एउटै सूत्र काफी छ—‘अर्थतन्त्र मूलमन्त्र’। यसमा कुनै शंका, उपशंका, तर्क वा बहस जरुरी छैन। तथ्यले पटक-पटक पुष्टि गरिसकेको छ। अर्थात् आर्थिक वृद्धि र विकासलाई सबै विषयको केन्द्रमा राख्नु अपरिहार्य छ। यो कुनै व्यक्तिको जीवनका लागि पनि उत्तिकै महत्वपूर्ण छ जति टोल, छिमेक, पालिका, प्रदेश वा राष्ट्रका लागि। आर्थिक रूपमा सबल व्यक्ति, परिवार वा समाज आर्थिक रूपमा दुर्बल एकाइहरूभन्दा सर्वदा उत्तम हुन्छ।
कुनै पनि समाजको उन्नतिका लागि शिक्षा, स्वास्थ्य, जीवनशैली, रहनसहन, सहअस्तित्वको स्वीकार लगायत यावत् तत्व आवश्यक हुन्छन्। तर ती सबैको केन्द्रमा रहन्छ—अर्थ। त्यसैले राजनीतिले अर्थनीतिलाई प्रथम नीतिको रूपमा अंगीकार गर्नु जरुरी छ। विश्वका उदाहरणहरू हेर्दा सजिलै बुझ्न सकिन्छ—आर्थिक प्रगतिले समाजको अन्य सबै प्रगतिको जग बसाल्छ। आर्थिक उपलब्धिबिना न कुनै देशको लोकतन्त्र टिक्छ, न सभ्यता नै कायम रहन्छ। रोमन साम्राज्यदेखि सोभियत संघ, स्पेनी साम्राज्य, ओटोमन साम्राज्य, गुप्त साम्राज्य, मुगल वंश, हान वंश आदिका विशाल साम्राज्यहरू आर्थिक सबलताकै जगमा बने र गलत आर्थिक निर्णयहरूले नै चकनाचूर भए। इतिहास यसको छर्लंग प्रमाण छ।
चाणक्यनीतिको प्रथम अध्यायका अनुसार मानव जीवनका चार लक्ष वा पुरुषार्थ हुन्छन्—धर्म, अर्थ, काम र मोक्ष। यहाँ पनि अर्थलाई महत्व दिइएको छ। अर्थलाई महत्व दिँदैमा अधर्मी वा कुकर्म गर्ने छुट भने हुँदैन। आर्थिक प्रगतिकै नाममा शान्ति वा अमनचयनलाई सम्झौता गर्नु पनि गलत हो। धर्म, काम र मोक्षलाई यथावत राखेरै आर्थिक अवस्थालाई उन्नत बनाउनु हरेक व्यक्तिको व्यक्तिगत र सामूहिक हितमा छ। चाणक्यनीतिमै भनिएको छ—कष्ट वा आपतकालका लागि धनको रक्षा गर्नुपर्छ, धन खर्च गरेर परिवारको रक्षा गर्नुपर्छ, तर परिवार र धनभन्दा पनि आफ्नो आत्मरक्षा गर्नुपर्छ। यसरी आफू र परिवारको रक्षा गर्न धन उपयोगी हुने यथार्थ चाणक्यले हजारौं वर्षअघि सिकाएका थिए। जीवनको सन्तुलन कायम राख्दै आर्थिक सबलीकरणलाई प्राथमिकतामा राख्नु मानिसको स्वयंप्रतिको कर्तव्य हो।
हामीले आदर्श व्यक्तित्व मानेका कतिपय अगुवाहरूले देश वा राष्ट्रलाई केन्द्रमा राख्नुपर्ने बताउँछन्। अमेरिकाका लोकप्रिय पूर्वराष्ट्रपति जे.एफ. केनेडीको भनाइ थियोः “आफ्नो देशबाट के पायौ भन्दा पनि आफ्नो देशलाई के दिन सक्छौ भनेर सोच।” अहिले पनि यसै वरिपरि रहेर मानिसहरू देश र समाजको चिन्तन गर्छन्। तर त्यसो भन्दैमा व्यक्तिगत भलाइ र सर्वोपरि हितलाई नकारात्मक दृष्टिले हेर्नु हुँदैन। देशको हितभन्दा पहिला आफू र आफ्नो परिवारको हितलाई प्राथमिकतामा राख्नु जरुरी छ। किनभने जब मानिस आफ्नै हित गर्नबाट चुक्छ, उसले समाज वा देशको हित गर्ने सम्भावना सकिन्छ; बरु ऊ त्यस्तो अवस्थामा पुग्छ जहाँ समाज र देशले उसलाई उद्धार गर्नुपर्छ। ‘आफैं महादेव उत्तानो परे, कसले देला बर’ भन्ने नेपाली उखान व्यावहारिकतामा आधारित छ।
कुनै राजनीतिज्ञले ‘तिमीले मेरो लागि यति समय वा स्रोत खर्च गर, अनि म देश बनाउँछु’ भन्छ भने त्यो ‘आज तिमी मलाई हजार देऊ, म एक महिनामा एक लाख बनाईदिन्छु’ भनेर सोझासाझासंग हजार रुपैया ठग्ने ठगजस्तै हो। जो राजनीतिज्ञले अनावश्यक सभा-सम्मेलन, जुलुसमा सहभागी हुन आह्वान गर्छन्, खेतबारीमा फलफूल हुर्काउने समयमा आफूलाई शक्तिशाली बनाउने काममा सहभागी हुन भन्छन्, तिनका कुरामा बहकिनु न तपाईंको आफ्नो हितमा छ, न तपाईको परिवारको। व्यक्तिको र उसको परिवारको अहित हुँदा, अर्थहिन कुरामा कसैको समय र उर्जाको नष्ट हुँदा, देश र जगतको भलो हुन्न, कुभलो हुन्छ। त्यसैले त्यस्ता कुराहरुमा आम मानिसहरु सचेत बन्नु पर्छ, अनि मात्रै राजनिति गर्ने मानिसहरुको आवरणमा कसैले सत्तालाई ठगिखाने भाँडो बनाउन सक्दैनन्। ‘आत्मसुधार नै जगत् सुधार’, ‘आफू भलो त जगत भलो’, ‘संसार परिवर्तन गर्नु छ भने आफैंबाट शुरू गर’—यी सबै व्यावहारिक सिद्धान्त यही मन्त्रमा आधारित छन्।
त्यसैले, अबको मूलमन्त्र – अर्थतन्त्र, अबको प्राथमिकता – आर्थिक सबलता, हाम्रो-दृष्टी – श्रमिकहरुको समृद्धी, अबको बहस – निरर्थक होईन अर्थपूर्ण बहस, आर्थिक उन्नतीमा केन्द्रित बहस, अबको जगत् सुधार-आफैबाट शुरू हुने सुधार, अबको प्रगती आफैंबाट शुरू हुने प्रगती, निजी-पारिवारिक-सामाजिक सन्तुलन कायम राख्दै, धार्मिक-सांस्कृतिक-आध्यात्मिक सन्तुलन कायम राख्दै, आफ्नै सर्वोपरि हित। भावनामा बहकिएर होईन, ब्यबहारिक भएर,
किन? किनकी बहुजनको हितको लागि यो नै एक मात्रै अचूक उपाय हो। अर्थतन्त्रलाई पछाडी धकेलेर निर्धारण गरिने अरु सबै प्रकारका प्राथमिकताहरु कोलाहल हुन्।
कसरी? के र किन भन्ने प्रश्नहरुको बारेमा प्रष्ट जवाफ जति जरुरी छ, कसरी भन्ने प्रश्नको जवाफमा स्पष्टता पनि उत्तिकै महत्वपूर्ण छ। यसको लागि तथ्यहरुले पुष्टी गरेका ठोस उपायहरु छन्, हामीले अर्थतन्त्र चलायमान बनाउनको लागि अर्को पांग्राको आविस्कार गर्नु आवश्यक छैन। देशको बहसको नेतृत्व गर्नेहरुले कसरी भन्ने प्रश्नलाई समेटेर बहसमा उत्रिएको अवस्थामा सर्वसाधारणले पनि उक्त बहसमा सक्रिय सहभागी हुने र आर्थिक समृद्धीको मार्गमा होस्टेमा हैसे हुने वातावरण तयार हुन्छ।
त्यसैलेः अर्थम, प्रथम!

