आज माथातिर्थ औंसी, फेरि एक पटक आमा शब्दले बेस्सरी चिमोट्यो। आमा साँच्चै सर्वप्रिय शब्द रहेछ। संसारमा सबैभन्दा शक्तिशाली शब्द आमा हो। आमा श्रद्धाले भरिएको शब्द हो। आमाले जस्तो सन्तानको माया अरूले गर्न सक्दैनन्। मात्रामा धेरथोर हुन सक्छ, सन्तानको माया बुवाले पनि उत्तिकै गर्छन्। तर आमाले जन्माएको, काखमा खेलाएको, स्तनपान गरेर हुर्काएका कारण केही बढी हुनु स्वाभाविक हो। यही कारण सन्तानका लागि आमा साक्षात् देवी हुन्। अनि त्यही देवीको एउटा रूप हुनुहुन्छ मेरी आमा।
मेरो जन्म पर्वतको मल्लाज भन्ने गाउँमा भएको हो । हाम्रो घर खासै ठूलो सुविधा भएको थिएन। तर त्यो सानो घरभित्र एउटा यस्तो बन्दोबस्त चलिरहेको थियो जसलाई कुनै अर्थशास्त्रले, कुनै समाजशास्त्रले, कुनै विकासको मोटो किताबले पनि बुझाउन सक्दैन। त्यो बन्दोबस्तको नाम थियो आमा।
त्यो घरमा बुवा हुनुहुन्थ्यो तर उहाँ विदेशमा हुनुहुन्थ्यो। विदेश भन्नाले भित्ताभन्दा टाढा, जिम्मेवारीले अझ टाढा अनि भावनाको हिसाबले कहिलेकाहीँ झन् टाढा। घर पूरै आमाको भरमा चल्थ्यो। तर त्यो अधीनता नभई सेवा र त्यागको अनौठो राज्य थियो। यस्तो राज्य जहाँ राजा आफै थाकेको हुन्छ तर प्रजा सधैं तृप्त रहन्छ।
आमा बिहान सबेरै उठ्नुहुन्थ्यो। घाँस काट्न जानुहुन्थ्यो, बारीमा गोडमेल गर्नुहुन्थ्यो अनि फर्केर खाना पकाउनुहुन्थ्यो। हामीलाई हुर्काउनुहुन्थ्यो। हामीलाई लाग्थ्यो आमा यस्तो खानी हुनुहुन्छ, जो कहिल्यै रित्तिँदैन, कहिल्यै थाक्दैन। सायद बाल्यकाल भनेको नै आमालाई अजेय ठान्नु हो।
भाइ र म दुवै साना थियौं। बुझाइ शून्य, माग असीमित। यो नेपालको सबैभन्दा पुरानो माग र आपूर्तिको गडबडी हो। जहाँ माग सधैं बच्चाहरूको हुन्छ र आपूर्ति सधैं आमाको। भोक लाग्यो : आमा। डर लाग्यो : आमा। रिस उठ्यो : आमा। अझै कहिलेकाहीँ त दिउँसै बोर लाग्दा पनि आमा। आमा चौबीसै घण्टा खुल्ने टेलिफोन सेवा केन्द्रजस्तो हुनुहुन्थ्यो, जहाँ सेवा सधैं उपलब्ध हुन्छ तर गुनासो सुन्न कोही आउँदैन।
गाउँले जीवन : पानी लिन जानुपर्थ्यो, घाँस काट्नुपर्थ्यो, खेतमा पसिना बगाउनुपर्थ्यो। हामीलाई लाग्थ्यो यो साधारण जीवन हो तर असाधारण त आमा हुनुहुन्थ्यो। उहाँ एक हातले गाउँ समाजको हिसाब मिलाउनुहुन्थ्यो, अर्को हातले हामीलाई हुर्काउनुहुन्थ्यो अनि तेसै बीचमा आफ्नो जिन्दगीलाई कता हो कता चुपचाप थन्क्याउनुहुन्थ्यो।
भैरव अर्याल हुनुभएको भए सायद भन्नुहुन्थ्यो होला, “यो देशमा आमा भन्ने एउटा यस्तो संस्था छ, जसले राष्ट्रिय आम्दानीमा नाम नलेखाए पनि देश चलाइरहेको छ।”
आमा थाक्नुहुन्थ्यो तर आराम भन्ने शब्द उहाँको शब्दकोशमा थिएन। हामी सानो हुँदा धेरै कुरा बुझेनौं। म सानै थिएँ, आमाको दुख बुझ्नलाई धेरै सताएँ कति कुराहरु बुझेनौं अनि व्यवहार पनि । यो वाक्य अहिले लेख्दा जति सामान्य लाग्छ, यसको तौल त्यत्तिकै गह्रौं छ। आमा मेलापातबाट फर्कदा थाकेर पसिना पसिना भएर फर्कनुहुन्थ्यो। घरमा आउँदा कहिले कपडा भिजेको हुन्थ्यो त कहिले आँगनभरि बिस्कुन अस्तव्यस्त छरिएको हुन्थ्यो । हामी निर्दोष अनुहार बोकेर बसिरहेका हुन्थ्यौं, जस्तो कि हामीले केही गरेकै छैनौ । आमा सबै बुझ्नुहुन्थ्यो तर केही भन्नुहुन्नथ्यो। सायद आमा हुनु भनेकै सबै बुझेर पनि मौन बस्न सक्ने कला हो। यो कलाको कुनै विधाल हुँदैन ।
आज म बुझ्छु, उहाँकको गालीमा माया थियो, रिसमा चिन्ता थियो अनि मौनतामा पनि एउटा भाषा थियो। आमाले मलाई खाना मात्र नभएर पुरा जीवन नै खुवाउनुभएको रहेछ। कहिलेकाहीँ खाना नखाने जिद्दी गर्थें। आमा हार मान्नुहुन्नथ्यो। जुन हातले मलाई खुवाउँथ्यो त्यो हातले संसारको सबैभन्दा ठूलो लडाइँ जितिरहेको हुन्थ्यो, बच्चाको जिद्दीसँगको लडाइँ। उहाँले कहिल्यै “म थाकें” भन्नुभएन तर उहाँको अनुहारले हजार पटक भन्यो। त्यो अनुहार अहिले सम्झिँदा लाग्छ, यो कुनै अनुहार होइन, एउटा समय हो जसको हरेक धर्सो संघर्षको दस्तावेज हो।
हामि कति अनुहारहरू देख्छौं, तर कहिल्यै नियाल्दैनौं।
मैले आमालाई हजार पटक देखें तर उहाँलाई साँच्चै बुझ्न धेरै ढिलो गरें।
उहाँ केवल मेरी आमा हुनुहुन्नथ्यो। उहाँ त त्यो माटो हुनुहुन्थ्यो जसले मलाई बनायो। उहाँ त्यो मौन शक्ती हुनुहुन्थ्यो जसले मेरो जीवन चलायो तर आफ्नो लागि कहिल्यै केहि माग्नुभएन । आज म बुझ्छु, आमा कुनै व्यक्ति मात्र नभएर , आमा एउटा सभ्यता हुन्।
म आज पनि त्यो माटोको घरभित्र फर्किन चाहान्छु , जहाँ आमा अझै पनि चुपचाप हाम्रो भविष्य पकाउँदै हुनुहुन्छ। अनि म अझै पनि उहाँको मौन संविधान बुझ्ने प्रयासमै छु।
2026-04-16

